काठमाडौँ- पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन फेरि पक्राउ परेका छन्। एक सातापछि धरौटी बुझाएर छुटेका पुनलाई पुनः पक्राउ परेका हुन।
जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए। एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो। शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत सिआईबीको जिम्मा लगाइएको स्रोतले जनाएको छ।
वैशाख ७ गते रुपन्देही जिल्ला अदालतबाट ४ लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश दिएपनि धरौटी रकम जम्मा नगरेकाले कारागारमै थिए। दीपेश रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए।
सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा गर्न आदेश दिएपनि सुन तस्करी प्रकरणमा समेत नाम जोडिएकोले उनी पक्राउ गरिएको बताइएको छ।


