काठमाडौँ- एनआईसी एसिया बैंकले विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी हस्तान्तरण गरेको छ।
विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले उक्त पुस्तकालय भवनहरू निर्माण गरेको हो।
बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका– १ मा रहेको श्री मोहन्याल माध्यमिक विद्यालय र मधेश प्रदेशको सिरहा जिल्लास्थित भगवानपुर गाउँपालिका– १ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण गरेको छ।
त्यसैगरी, कोशी प्रदेशको झापा जिल्लास्थित बुद्धशान्ति गाउँपालिका– २ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय, सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका– ३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालय र गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित बन्दिपुर गाउँपालिका– १ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण कार्य सम्पन्न भएर बैंकले सम्बन्धित विद्यालयहरूलाई हस्तान्तरण गरेको छ।
त्यसैगरी, मधेश प्रदेशको पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिका– १४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय र लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित सियारी गाउँपालिका– ४ मा अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुलमा पुस्तकालय भवन निर्माण कार्य भइरहेको, साथै बागमती प्रदेशको चितवन जिल्लास्थित राप्ती नगरपालिका– ७ मा रहेको श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको भवन निर्माणका लागि निर्माणकर्ता छनोट प्रक्रिया अगाडि बढिसकेको बैंकले जनाएको छ।
बैंकले यी पुस्तकालय भवनहरू निर्माणका लागि भनेर कुल २ करोड १३ लाख २३ हजार बजेट विनियोजन गरेको छ।
यी पुस्तकालय भवनहरू निर्माणपछि ती विद्यालयहरूमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरूलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरूमा पहुँच भई उनीहरूको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरूमध्येको बैंक हो। यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


