मुग्लिन (चितवन)- चितवनको कालिका नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम प्रदान गरेको छ।
सीपमूलक कार्यक्रम प्रवर्धन गर्ने नीतिअनुसार नगरका ६५ महिलालाई १५ दिने तालिम दिइएको हो।
शनिबार तालिमको समापन गर्दै नगरप्रमुख विनोद रेग्मीले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले दिइएको तालिममा सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने विश्वास व्यक्त गरे। उनले नगर क्षेत्रका नागरिकमा सीपको विकास नभएसम्म समृद्ध कालिका निर्माण हुननसक्ने भएकाले नगरपालिकाले सीपमूलक कार्यक्रम सञ्चालन गर्दैआएको र त्यसमा महिलालाई प्राथमिकतामा राखेको बताए।
‘हरेक क्षेत्रमा महिलालाई अघि बढाउनुपर्छ भनेर हामीले विभिन्न सीपमूलक तालिम दिइरहेका छौँ, जसले महिलालाई आत्मनिर्भर बन्न सघाउ पुगेको छ। त्यहीक्रममा व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो र आगामी दिनमा यस्तै थप तालिम सञ्चालन गर्ने छौँ’, नगरप्रमुख रेग्मीले भने।


