काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गरेका छन्। सोमबार चितवनका लागि प्रस्थान गर्नुअघि उनले सभामुखसँग फोनमा कुराकानी गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले सुरुमा समाभुख देवराज घिमिरेलाई फोन गरेका थिए। फोनमा सोमबारै साँझसम्ममा संसदको गतिरोध अन्त्य हुने विश्वास सभामुखलाई प्रधानमन्त्रीले गराएका थिए। प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलसँग यस विषयमा छलफल भएको पनि बताएका थिए।
नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म सदनका कुनै पनि कामकारबाही अगाडि बढाउन नदिने उद्घोष गरेको छ। शुक्रबार बजेट अधिवेशन सुरु भएकै दिन कांग्रेसको अवरोधका कारण कुनै पनि कामकारबाही अघि बढ्न सकेका थिएनन्।
कांग्रेसको अवरोधबारे कुराकानी गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाका साथै संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसहित ५ जना नेतालाई बालुवाटार बोलाएर छलफल गरेका थिए।
छलफलबाट बाहिरिने क्रममा लेखकले आफूहरुको मागका विषयमा प्रधानमन्त्री सकारात्मक भएको दाबी गरेका थिए। तर कांग्रेसका मागमा प्रधानमन्त्रीले प्रतिक्रियाका विषयमा उनको सचिवालयले कुनै पनि जानकारी दिएको छैन।
मंगलबार दिउँसो ३ बजे सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसदका दुवै सदनको बैठकमा वाचन गर्ने कार्यक्रम तय भएको छ। सोही अनुसार संसद सचिवालयले तयारी अघि बढाएको संघीय संसदका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी गराए।
‘तीन बजे अगावै सबै सांसदलाई उपस्थित भएर आसनग्रहण गरिसक्नका लागि सांसदहरूलाई रिमाइन्डर म्यासेस पनि गर्न लागेका छौँ,’ उनले भने, ‘राष्ट्रपतिको उपस्थितिका बेला कस्तो गर्ने भनेर १२ बजे रिहर्सल पनि गरिनेछ।’


