काठमाडौँ- कीर्तिपुर नगरपालिका-१० नयाँबजारमा ग्याङफाइट भएको छ। २ जेठमा साँझ ७ बजे ग्याङफाइटमा संलग्न भएको आरोपमा ९ जना पक्राउ परेका छन्।
ग्याङफाइटमा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन्। घाइते हुनेमा कीर्तिपुर नगरपालिका–१० चिट्टुबिहार घर भएका २४ वर्षीय साजिस श्रेष्ठ छन्। उनको बाँया हातमा पूर्ण क्षति पुगेको बताइएको छ।
नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्काको समूहबीच खुकुरी हानाहान भएको हो। खुकुरी हानाहान गरेको आरोपमा ९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न ५ दिनको म्याद लिएको छ।
पक्राउ पर्नेहरुमा अछामको बिरपद गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका २७ वर्षीय मोहन खड्का, अछाम कमलबजार–१ घर भइ गट्ठाघर बस्दै आएका २१ वर्षीय धु्रवबहादुर विष्ट, बझाङको दुर्गाथली गाउँपालिका–७ घर भइ पुतलीसडक बस्दै आएका २० वर्षीय उपेन्द्र सिंह, बझाङको खप्तड गाउँपालिका–५ घर भइ मैतीदेवी बस्दै आएका २१ वर्षीय सुदिप गिरी छन् ।
त्यसैगरी अछामको रामारोशन गाउँपालिका–७ घर भई रातोपुल बस्दै आएका २३ वर्षीय नवीन भनिने नृप भण्डारी, बैतडीको पुरचौडी नगरपालिका–१ घर भएका २७ वर्षीय जयन्त धानुक, कैलालीको गैरीगंगा नगरपालिका–५ घर भई नयाँ बानेश्वर बस्ने २० वर्षीय तेज थापा, गैरीगंगा–९ घर भइ च्यासल बस्ने २२ वर्षीय तपेन्दराज्र खाती र बझाङको थलगा गाउँपालिका घर भइ बानेश्वर बस्दै आएका २१ वर्षीय सुनिल रोका छन्।
