काठमाडौँ- नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले चुरोटमा लाग्ने करबारे भ्रमपूर्ण विज्ञापन प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ।
संघका उपाध्यक्ष नवलकिशोर चौधरीले शुक्रबार विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यममा ‘चुरोटमा दक्षिण एसियामै कम कर ज्यानमारा चुरोट प्रति सरकार किन उदार ?’ भन्ने व्यहोराको विज्ञापनप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
‘केही समयदेखि उक्त विज्ञापन प्रकाशित गरी नेपालमा हाल चुरोटमा करको भार ३३ प्रतिशत मात्र छ भन्ने कुराको सन्देश दिन खोजेको देखिन्छ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
चुरोटमा ३३ प्रतिशत मात्र कर भन्ने कुरा तथ्यमा आधारित नभई भ्रामक रहेको संघले स्पष्ट पारेको छ। चुरोटमा कम्तीमा पनि ५४ प्रतिशत कर लागिरहेको संघको भनाइ छ।
वार्षिक बजेट तर्जुमा भइरहेको समयमा गलत र भ्रमपूर्ण रुपमा करको दरको अवस्थाबारे गलत प्रचार गरिनु अशोभनीय रहेको संघको भनाइ छ।



