काठमाडौँ- विकल पौडेल भ्रष्टाचार मुद्दामा दाेषी ठहरिएका छन्। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ४ जनालाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार भ्रष्टाचारमा दोषी ठहर गरेको हो।
विशेष अदालतले भ्रष्टाचारको मुद्दामा पाँच जनालाई भने सफाइ दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको अभियोगमा ६ वैशाख २०८० मा तत्कालीन कार्यकारी निर्देश पौडेलसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
विशेष अदालतले तत्कालीन कार्यकारी निर्देशक पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो र त्यति नै रकम जरिवाना भराउने फैसला सुनाएको छ। यसैगरी, नविनकुमार पौडेललाई ६ महिना कैद, ५ करोड ८४ लाख बिगो र त्यति नै रकम जरिवाना तिराउने फैसला विशेष अदालतले सुनाएको छ।
यस्तै, रोहितमान प्रधानलाई ५ करोड ८४ लाख र भुवन महर्जनलाई ५ करोड ७९ लाख रुपैयाँ जरिवाना तिराउने फैसला सुनाइएको छ। अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेका मनिकमान महर्जन, रमेशप्रसाद पोखरेल, मित्रलाल पुरी र शिरिष उपाध्यायले भने अदालतले सफाइ दिएको छ।


