काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुरले सबैभन्दा बढी आफूलाई लखेटिएको व्यक्ति आफू भएको बताएका छन्।
देउवा निवासमा आइतबार बिहान भएको भेटका क्रममा देउवाले उक्त कुरा बताएको महामन्त्री गगन थापाले बताएका हुन्। तर आफूले कान्तिपुरमाथि प्रतिशोध नसाँधेको र लोकतन्त्रमा त्यसरी नियन्त्रण गर्नु गलत हुनेसमेत देउवाले प्रचण्डलाई बताएको थापाको भनाइ थियो। नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा थापाले उक्त कुरा खुलाएका हुन्।
‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले अस्तिको दिन प्रधानमन्त्रीलाई भनेको म सम्झन्छु, स्थापना भएदेखि आजसम्मको कान्तिपुर तपाईं पल्टाएर हेर्नस्, कान्तिपुरले आजसम्म सबैभन्दा बढी गाली गरिएको, सबैभन्दा बढी आलोचना गरिएको र सबैभन्दा बढी लखटिएकोमा एक नम्बरमा मेरो नाम आएन भने भन्नुहोला,’ देउवाले प्रधानमन्त्री दाहाललाई भनेको कुरा उद्धरण गर्दै थापाले सुनाए, ‘म लखेटिएको र गाली खाएको छु। तर म र मेरो पार्टीको कुरा छ, त्यो ठिक वा गलत के थियो आफ्नो ठाउँमा जवाफ दिउँला। तर यसको आधारमा, मेरा बारेमा के लेखियो भन्ने आधारमा मिडियालाई कन्ट्रोल गर्न थालियो भने कहाँ पुग्छ, यो गलत हो।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकतामाथि छानबिन गर्नका लागि पक्राउ गरिएको गृहमन्त्रालयले बताउँदै आएको छ। तर सिरोहियाले भने आफ्नो सञ्चारसंस्थाले सहकारी ठगीका विषयमा प्रमाणसहित समाचार प्रकाशन गरेकाले प्रतिशोध साँधिएको बताएका छन्।
सहकारीमा कांग्रेसले भनेकैजस्तो संसदीय छानबिन समिति बन्ने पनि महामन्त्री थापाको छ।


