काठमाडौँ- एनसेलले अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक शुल्क परिमार्जन गरेको छ। डेटा रोमिङ प्याक शुल्क परिमार्जनसँगै ग्राहकले विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्छन्।
प्रयोगकर्तालाई मोबाइल डेटामार्फत सधैं अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिबद्धता बमोजिम रोमिङ डेटा शुल्क उल्लेख्य रुपमा घटाउँदै शुल्क परिमार्जन गरेको एनसेलले जनाएको छ।
एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाइएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्यान्ड रहेका छन्। परिमार्जित शुल्क ८ जेठदेखि लागु भएको हो।
यो डेटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरू पाइने र सम्पर्कमा रहन जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु आवश्यकता नपर्ने एनसेलले जनाएको छ।
डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले कर सहित दैनिक ७९ रूपैयाँ ८८ पैसामा अमेरिका, यूएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन्। यो शुल्क यस अघिको दैनिक १९० रुपैयाँ १८ पैसाको तुलनामा ५८ प्रतिशतले कम हो।
त्यस्तैगरी चीन, बेलायत र थाइल्यान्ड भ्रमणमा जाने एनसेलका ग्राहकले कर सहित १९० रुपैयाँ १८ पैसामा प्रति दिन डेटा सेवाको फाइदा लिन सक्छन्। परिमार्जन अघि यी गन्तव्यमा दैनिक डेटा रोमिङको शुल्क ६३३ रुपैयाँ ९३ पैसा रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ।


