काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक सडक दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ।
बा ४ ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा धादिङ घर भई हाल काठमाडौँको तारकेश्वर–२ काभ्रेस्थलीका २७ वर्षीया रमिता तोलाङ्गीको मृत्यु भएको हो। उक्त दुर्घटनामा परी ५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी तोलाङ्गीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालल महाराजगञ्जमा राखिएको छ।
दुर्घटनामा परी घाइते हुनेमा सिन्धुली घर भई हाल काठमाडौँको तारकेश्वर–२ का गाडी चालक २६ वर्षीय सुशील दमाई, सोही ठाउँका सहचालक २० वर्षीय कृष्ण तमाङ, २६ वर्षीय गोपाल दमाई, २५ वर्षीय टेकबहादुर मरस्याङ्दी र १८ वर्षीया पवित्रा तोलाङ्गी छन्।
उनीहरूको जरङखुस्थित मेगा ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताए।


