म्याग्दी (बेनी)- म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ। परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्र्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको हो।
वडा कार्यालयको ‘कृषि प्रवद्र्धन’ वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ३८ कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको वडाध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए। वडा कार्यालयले हाते ट्र्याक्टर माग गरेका कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको वडाध्यक्ष शाहीले बताए।
‘रु ४० हजार मूल्यका हाते ट्र्याक्टरमा कृषक र गाउँपालिकाले रु २०÷२० हजारको दरले साझेदारी भएको छ, छिट्टै व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकलाई प्लाष्टिक टनेलसमेत अनुदानमा वितरण गर्ने योजना बनाएका छौँ’, वडाध्यक्ष शाहीले भने। शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष शाही, वडा सदस्य जितबहादुर खत्री, आइती दर्जीलगायतले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेका थिए।
यस वर्ष कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत रु आठ लाख ५० हजार बजेटबाट ३८ जनालाई हाते ट्र्याक्टर र २५ जनालाई प्लाष्टिक टनेलमा ५० प्रतिशतको दरले अनुदान दिएको वडा कार्यालयले जनाएको छ। गाउँघरमा गोरु पाल्ने प्रचलन हराएर जान थालेको र खेतबारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्र्याक्टर दिएपछि राहत भएको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका कृषक सुरतबहादुर चन्दले बताए।
‘गोरु पाल्नै छाडे, हलो जुवा बनाउने सीप पनि हराएर जान थालेको छ, महिलाहरुले समेत जोत्न मिल्ने भएकाले हाते ट्र्याक्टर निकै उपयोगी उपकरण बनेको छ, हिउँदे र बर्खे दुवै खेती लगाउन हाते ट्र्याक्टरले समय र खर्चको समेत मितव्ययिता हुन्छ’, उनले भने। म्याग्दीमा पछिल्लो समय खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतबारी जोत्ने प्रचलन हराएको छ भने हाते ट्र्याक्टरलगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ।
हाते ट्र्याक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने पिप्लेका युवा कृषक प्रकाश शर्माले बताए। सडक सञ्जालको पहुँच विस्तार भएसँगै जिल्लाको ग्रामीण भेगमा खेतबारी जोत्ने काममा हाते ट्र्याक्टरको प्रयोग बढ्दै गएको छ।
