नयाँदिल्ली– उत्तरपूर्वी भारतको अरुणाचल प्रदेशमा भारतीय जनता पार्टी (भाजपा)ले दुई तिहाई बहुमत ल्याएको छ।
निर्वाचन आयोगले जुन ४ मा मतपरिणाम सार्वजनिक गर्ने घोषणा गरेको भएपनि विधान सभाको कार्यकाल जुन २ सार्वजनिक भएको छ।
अरुणाचल प्रदेशमा ६० विधानसभा सिट छन्। मुख्यमन्त्री पेमा खान्डु र उपमुख्यमन्त्री चौना मीनलगायत सत्तारुढ भाजपाका १० उम्मेदवारहरूले निर्विरोध विजयी भएकाले ५० मा मात्र मतदान भएको थियो।
भाजपाले ४६ सिटसहित दुई तिहाई बहुमत ल्याएको हो। दुई महिला विधायक, न्याबी जिनी डिर्ची (बसरबाट) र चकट आबो (खोन्सा पश्चिमबाट) पनि विजयी छन्।

नेसनल पिपुल्स पार्टी (एनपीपी)ले ५, राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)ले ३, पीपल्स पार्टी अफ अरुणाचल (पीपीए)ले २ र स्वतन्त्र उम्मेदवारले ३ सिट जितेका छन्।
यी निर्वाचनमा ३४ सिटमा चुनाव लडेको कांग्रेसले एउटा मात्र सिट जित्न सकेको थियो। बामेङ सिटबाट पूर्वमन्त्री कुमार वाई विजयी भएका छन्।
पेमा खाण्डुले अरुणाचल प्रदेशको दशौं मुख्यमन्त्री बन्नेवाला छन्।
खाण्डुले मुख्यमन्त्री बन्न लागेको यो तेस्रो पटक हो। खाण्डुका पिता दोर्जी खाण्डु पनि २००७ देखि २०११ सम्म अरुणाचल प्रदेशको मुख्यमन्त्री बनेका थिए।
अप्रिल १९ मा लोकसभा चुनावसँगै राज्यमा पहिलो चरणमा विधानसभाको निर्वाचन भएको थियो। प्रदेशमा ८२.९५ प्रतितशत मतदाताले भोट हालेका थिए।

२०१९ मा कुन पार्टीले कति सिट जितेको?
अप्रिल २०१९ मा भएको पछिल्लो विधानसभा चुनावमा बीजेपीले अरुणाचलका ६० मध्ये ४१ सीटहरू जित्न सफल भएको थियो। भाजपापछि जनता दल (युनाइटेड)ले सबैभन्दा बढी सिट जितेको थियो। उसले ७ वटा विधानसभा क्षेत्रमा विजय हासिल गरेको थियो।
यसबाहेक एनपीपीले ५, कांग्रेसले ४ र पीपीएले एक सिट जितेको थियो। दुई स्वतन्त्र उम्मेदवार पनि विजयी भएका थिए। पछि, एक नबाम टुकी (पूर्व मुख्यमन्त्री) बाहेक कांग्रेसका सबै चार विधायकहरू भाजपामा सामेल भए।
बीजेपीले बहुमत पाएपछि पेमा खाण्डु मुख्यमन्त्री बने। मुख्यमन्त्री खाण्डु आफ्नो पारिवारिक गढ मुक्तोबाट निर्विरोध विजयी भएका थिए।
पिता तथा पूर्वमुख्यमन्त्री दोर्जी खाण्डुको निधनपछि सन् २०११ मा भएको उपनिर्वाचनमा पनि पेमा खाण्डुले यो सिट निर्विरोध जितेका थिए।
२०१४ को विधानसभा चुनावमा सोही सिटबाट उनी दोस्रो पटक निर्विरोध निर्वाचित भएका थिए।
सिक्किमा एसडीएफ
सिक्किममा ३२ विधानसभा सीटहरू छन्। सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले ३२ मध्ये २८ सिट जितेर राज्यमा सरकार बनाउने तयारी गरेको छ। अरुणाचल जस्तै यहाँ पनि जुन ४ मा विधानसभाको पदावधि सकिने भएकाले जुन २ मा नतिजा सार्वजनिक गरिएको हो।
भारतीय निर्वाचन आयोगका अनुसार एसकेएमले ५८.३८ प्रतिशत मत पाएको देखिएको छ।
सिक्किमका मुख्यमन्त्री तथा एसकेएम नेता प्रेम सिंह तामाङ दुई सिटमा विजयी भए। तामाङकी श्रीमती कृष्णकुमारी राई नाचो–सिंघिथाङबाट विजयी भइन्।
गान्तोकस्थित पार्टी कार्यालयमा आयोजित समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै तामाङले आफ्नो दललाई विश्वास गरेको भन्दै सिक्किमका जनताप्रति कृतज्ञता व्यक्त गरेका छन्।
तामाङले भने, ‘पवनकुमार चाम्लिङले २५ वर्षमा जे गर्न सकेनन्, त्यो हामीले ५ वर्षमा गरेका छौं। जनताले यही आधारमा भोट दिएका छन्।’

चाम्लिङ नेतृत्वको एसडीएफले श्यारी निर्वाचन क्षेत्रबाट मात्रै जितेको छ। सिक्किमको यो विधानसभा चुनाव पनि ऐतिहासिक छ। राज्यमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बनेका एसडीएफ नेता पवनकुमार चाम्लिङले पहिलो पटक चुनाव हारेका छन्।
चाम्लिङले उम्मेदवारी दिएका दुवै सिट (पोकलोक–कामराङ र नाम्चेबुङ)बाट पराजित भएका छन्। ३९ वर्षमा चाम्लिङ विधायकको रूपमा राज्यसभामा नआएको यो पहिलो पटक हो।

भाजपाले सिक्किममा एक सिट पनि जित्न नसके पनि आफ्नो भोट शेयर १.६२ प्रतिशतबाट बढाएर ५.१८ प्रतिशत पुगेको छ। मिजोरम विधानसभा चुनावमा आफ्नो खाता खोल्न असफल भएपछि दोस्रो उत्तर-पूर्वी राज्य हो जहाँ भाजपा केन्द्रमा सत्तामा भए पनि एक सिट जित्न असफल भएको छ।
आफ्नै चेलाको दलले हरायो चाम्लिङलाई
सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का नेता पवन चाम्लिङले सन् १९९४ देखि लगातार २५ वर्षसम्म मुख्यमन्त्री बनेर प्रदेशको सत्ता सम्हालेका थिए।
सन् २०१९ को विधानसभा चुनावमा थोरै अन्तरले एसडीएफ पराजित भयो। एसडीएफले १५ सिट जितेको थियो। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले १७ सिट जित्न सफल भएको थियो।
तर, दुई दलबीचको भोटमा भने थोरै मात्र फरक देखिएको थियो। एसडीएफले ४७.६३ प्रतिशत र एसकेएमले ४७.३ प्रतिशत मत प्राप्त गरेको छ।
वास्तविक सदस्यकै कुरा गर्ने हो भने एसडीएफसँग १३ सदस्य मात्र थिए किनभने तिनीहरूमध्ये दुई जनाले दुई-दुई स्थान (सिट)बाट जितेका थिए।
यी १३ मध्ये पवन चाम्लिङ बाहेकबाँकी १२ जनाले दल परिवर्तन गरे। १० जना भाजपा र अन्य दुई जना सत्तारुढ एसकेएममा गए। यसपछि भाजपा सिक्किममा सबैभन्दा ठूलो विपक्षी दल बनेको थियो।
२०१४ को चुनावले एसकेएमको आगमनको संकेत गरिसकेको थियो। चाम्लिङका शिष्य पीएस तामाङले २०१३ मा एसकेएम गठन गरेका थिए। २०१४ को विधानसभा चुनावमा, एसकेएमले ४०.८ प्रतिशत मतका साथ १० सिट जित्न सफल भयो भने एसडीएफले ५५ प्रतिशत मतका साथ २२ सिट जित्न सफल भयो।
सिक्किमले एसडीएफ शासन अन्तर्गत धेरै सामाजिक र आर्थिक सूचकहरूमा उल्लेखनीय प्रगति गरेको छ।
राज्यले प्रतिव्यक्ति आय, जीवन प्रत्याशा दर र साक्षरता दरको सन्दर्भमा राष्ट्रिय औसतभन्दा राम्रो प्रदर्शन गर्यो, तर एसकेएमको चुनावी अभियानले यी उपलब्धिहरूमाथि प्रश्न उठाउन र एसडीएफ सरकारमा भएको कथित भ्रष्टाचारलाई हाइलाइट गर्नमा केन्द्रित थियो।
राज्यका ६० प्रतिशत मतदाता ४० वर्षभन्दा कम उमेरका भएकाले बेरोजगारीको समस्या सत्ता परिवर्तनको प्रमुख कारण बनेको छ।


