काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेट भएको हो।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठकअघि सभापति लामिछानेले प्रधानमन्त्रीसँग भेट गरेका हुन्। रास्वपा बैठकमा सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने विषयमा छलफल गर्ने तयारी भएको बताइएको थियो। त्यसअघि नै सभापति लामिछानेले प्रचण्डसँग भेट गरका हुन्।
माओवादीका नेतासमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले रविले जुन मन्त्रालय माग्छन् त्यही मन्त्रालय दिनुपर्ने बताएका छन्। यसअघि प्रधानमन्त्री प्रचण्डले पनि रविलाई फोन गरी सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा जिज्ञासा राखेका थिए। २१ जना सांसद भएको रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री अल्पमतमा पर्ने छैनन्।
रास्वपाले प्रचण्ड नेतृत्वको सरकारले पछिल्लोपल्ट ल्याएको न्यूनतम साझा कार्यक्रममा असहमति जनाएको छ। ‘एमाले नेतृत्वको गठबन्धन हुँदा रास्वपाको माग सम्बोधन गरिएको थियो। अहिले त्यसमा फेरबदल गरिएपछि प्रचण्ड सरकारमा हाम्रो नीतिगत अपनत्व छैन,’ रास्वपा संसदीय दलको नेताबाट राजीनामा दिएका सांसद डीपी अर्यालले भनेका छन्।
चितवन-२ को उपनिर्वाचनमा विजयी भएपछि पार्टी सभापति लामिछानेले सरकारलाई समर्थन दिइरहनुपर्ने कारण नरहेको बताएका थिए। यसअघि २२ माघमा रास्वपा प्रचण्ड सरकारबाट फिर्ता भएको थियो। तर उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।
यसका साथै रास्वपा संसदीय दलको बैठकमा दलको नेताबाट डीपी अर्यालले राजीनामा दिएपछि रविलाई ल्याउने विषयमा छलफल हुने बताइएको छ।
रास्वापाको केन्द्रीय समिति बैठक सोमबार बिहान ११ बजे बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ।
