काठमाडौं- विशेष अदालतले मालपोत कार्यालयका ७ जना अधिकृतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामाथि अन्तिम फैसला गर्दै विशेषले ७ जना अधिकृतहरूलाई भ्रष्टाचारी ठहर गरेको हो।
दोषी ठहर हुनेमा मालपोत कार्यालय पर्सामा काम गरेका तत्कालीन मालपोत अधिकृतहरू हरिणारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदम प्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, किरणप्रसाद उपाध्याय र कम्युटर अधिकृत कुमोद भण्डारी भ्रष्टाचारी ठहर भएका हुन्। उनीहरूमाथि राजस्व चुहावट गरेको आरोप थियो।
विशेषले मिश्र, बोगटी, ढुंगाना, अर्याल र तिवारीको हकमा सजाय निर्धारणका लागि असार ५ गते पेसी तोकेको छ।
उपाध्यायको भने निधन भइसकेको छ। उनलाई विशेषले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ ७५ पैसा बिगो तिराउने फैसला गरेको छ।
उपाध्यायको यो बिगो अब विशेषको फैसलाअनुसार छोराहरू राजकिशोर, गौतम, पशुपति र मुरारी उपाध्यायबाट दामासाहीले असुलउपर गर्नुपर्नेछ।
उता मिश्र र बोगटीले जनही १ करोड २५ लाख ११ हजार ९९ सय ९० बिगो तिर्नुपर्ने भएको छ।
ढुंगानाले ३५ लाख ४५ हजार ९५०, अर्यालले १६ लाख ८१ हजार ६०० र तिवारीले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ बिगो तिर्नुपर्ने भएको छ।
अर्का प्रतिवादी चन्द्रप्रसाद भण्डारीको हकमा विशेषले ६ महिना कैद र बिगोको दोब्बर ४ लाख ८८ हजार ९०० जरिवाना तिर्नुपर्ने भएको छ।
आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको दाबी अख्तियारको थियो।


