काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन्।
आज काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘अहिलेको सन्दर्भमा सरकारमा गएर नराम्रो काम केही नगर्नु भनेको सबैभन्दा राम्रो गर्नु हो। हामीले सय दिनमा केही पनि नराम्रो गरेनौं। बरु बिधी बनाउने काम गरेका छौं,’ उनले भने, ‘तर नराम्रो नगर्दैमा चुप लाग्ने अवस्था छैन। यहाँ त माछाका कुरा छन्। यहाँ सबैभन्दा ठूलो त माछाको कुरा छ नि। उपलब्धि भनेकै माछा भन्ने हामीले नै भनेकाले समेत माछा खोइ माछा भनेर सोध्छन्।’
रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठुलो कार्यभार रहेको भन्दै उनले उपलब्धि नै भ्रष्टाचारीको ठुला फाइल खोल्नुलाई लिइरहेको बताए। उनले आफ्नो पार्टी सरकारमा पुगेपछि विधिको स्थापना गरेको बताए।
उपप्रधानमन्त्री लामिछानेले पुराना राजनीतिक दलहरूसँग आफ्नो पार्टी मिलेर नगएको र रास्वापाका पदाधिकारी चिन्तित भएर लाग्नु नै पार्टी अघि बढ्नु रहेको बताए।
