काठमाडौँ– चिकित्सा शिक्षा आयोगले झापास्थित बी एन्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ।
आयोगका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो।
२०८० चैत १२ मा न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईं सञ्चालक रहेको बी एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो।
गत जेठ १४ मा सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई आदेश दिएपछि आयोगले सम्बन्धन दिने निर्णय गरेको हो।
काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ को बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिस गरेको थियो।
उता चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले भने अदालतको आदेशविरुद्ध पुनरवलोकन गर्न माग राखेका छन्।
कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने डा.गोविन्द केसीले चेतावनी दिएका छन्।


