काठमाडौँ- नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्रको शौचालयमा मृत भेटिएका नेपाल प्रहरीका जवानले प्रेममा असफल भएका कारण आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
दुबईमा रहेकी प्रेमिका कम मात्र सम्पर्कमा आउन थालेपछि उनीहरूको प्रेममा खटपट आएकाले युवकले आफैँलाई गोली हानेको प्रहरीको अनुमान छ।
बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोले दुई नम्बर गेटको शौचालयमा मृत भेटिएका थिए।
दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ।
गोलेले आफ्नै निधारमा गोली हानेका थिए।
गोलेले प्रेमिकालाई परिवारसँगै पनि चिनजान गराएका थिए। गोलेले पारिवारिक सहमतिमा नै विवाह गर्ने योजना पनि बनाइसकेका थिए।
गोलेले ती युवतीलाई सहयोग गरेर दुबई पठाएका थिए।
म्यासेन्जरमा प्रेमिकालाई भिडिओ कल गरेको समय र गोली चलेको समय एकै देखिएको छ।
यसकारण उनले प्रेमिकालाई भिडिओ कल गरेरै आफूलाई गोली हानेको हुनसक्ने देखिएको छ।


