काठमाडौँ- वर्षायाम सुरु भएसँगै मेलम्ची खानेपानी बन्द हुने त्रासले सताएको छ।
लामो समयपछि काठमाडौँ ल्याइएको मेलम्ची खानेपानी वर्षामा खोलामा आउने बाढीका कारण बन्द हुने गर्दछ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार बर्सात धेरै भएर बाढी आउने अवस्थामा मुहानबाटै पानी बन्द गरिन्छ।
उनले हाल आयोजनास्थल र त्यसभन्दा माथिको भागमा कर्मचारी राखेर २४ सै घण्टा बाढीको अवस्था हेरिरहेको र क्षति पुर्याउने खालको बाढी आउने अवस्थामा तत्काल पानी बन्द गरिने बताए।
लामिछानेले भने, ‘मेलम्ची आयोजनास्थलमा काठमाडौँतर्फ पानी ल्याउने मुहानसम्मको बाटो बाढीले बगाएको छ। मुहानस्थलमा पानीको मात्रा पनि बढिरहेको छ। केही गरेर माथिल्लो भागबाट बाढी आएर धमिलोपना बढ्यो भने जुनसुकै बेला पनि बन्द गर्नुपर्ने हुनसक्छ। यो दिनदेखि पानी बन्द हुन्छ भनेर मिति भने तोकेका छैनौँ। तर हामी आयोजनास्थलको नजिकै हाई अलर्टमा बसेका छौँ। हामीले २४ सै घण्टा मुहान क्षेत्रमा बाढीको निरीक्षणका लागि कर्मचारीहरू खटाइरहेका छौँ।’
उनले काठमाडौँमा हाल दैनिक १७ करोड लिटर हाराहारी पानी आइरहेको बताए।
बाढीको लेदो पसेको अवस्थामा सुरुङमा खतरा उत्पन्न हुने भएकोले जुनसुकै बेला पानी बन्द हुनसक्ने उनको भनाइ छ।
जहिलेसम्म पानी पठाउन सकिन्छ त्यसका लागि खटिइरहेको र कर्मचारी परिचालन गरिरहेको जानकारी दिए।
आयोजनाको गेट बन्द गर्नुपर्ने अवस्थामा ४ जना कर्मचारीलाई तयारी अवस्थामा राखिएको र आयोजनाभन्दा माथिको भागमा बाढी आएको सूचना दिनमा लागि पनि मान्छे राखिएको लामिछानेले बताए।
२०७८ साल असार १ गते मेलम्ची नदीमा आएको भीषण बाढीका कारण मेलम्ची खानेपानी आयोजनाका संरचनाहरूमा ठुलो क्षति पुर्याएको थियो।
सुरुङभित्र पानी पठाउनुअघि त्यसलाई विभिन्न चरणमा फिल्टर गर्ने, मसिना ढुङ्गा, बालुवा लगायतका छान्ने संरचनाहरू सबै बाढीले बगाएका कारण पनि संवेदनशील हुनुपरेको उनले बताए।
अहिले त्यस्ता केही पनि संरचना नभएकोले सुरुङमा बाढीको लेदो पस्ने जोखिम रहेको उनको भनाइ छ।
पानी पठाउन बन्द भएपछि मनसुन रोकिएसँगै आयोजना स्थलमा भरिने ग्रेगान सफा गरेर काठमाडौँमा पानी पठाउने बताए।
अहिले सुरुङको मुखमा फलामका ठुला पाता राखेर सुरुङभित्र बाढीले ल्याएका ग्रेगान प्रवेश रोक्न सुरक्षा गर्ने काम भइरहेको उल्लेख गरे।
प्रकाशित: २०८१ असार ८ गते शनिवार ०७:५१