काठमाडौँ- आफूखुशी गैरहाजिर रहेका १३ जना प्रहरीलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ।
कार्यालयले प्रहरी सहायक निरीक्षकदेखि जवानसम्म १३ जना कर्मचारी झन्डै दुई महिनादेखि आफूखुशी गैरहाजिर रहेको जनाउँदै उनीहरूलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो।
गैरहाजिर रहनेमा एक प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हवलदार र ८ जना प्रहरी जवान छन्। त्यस्तै दुई जना प्राविधिक प्रहरी जवान पनि गैरहाजिर छन्।
प्रहरी प्रधान कार्यालयले उनीहरूको खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत ती प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएका जनाएको छ।
उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

