काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँ-१ बाट निर्वाचित सांसद डा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने सकारात्मक देखिएको छ। रास्वपाका प्रवक्ता डा मुकुल ढकालले अर्थतन्त्रमा समस्या देखिएका बेला आफ्नो दलमा अर्थतन्त्रसम्बन्धी जानकार डा वाग्ले सांसद चुनिएर आएको भन्दै उनलाई अर्थमन्त्री बनाउने विषयमा आफूहरू सकारात्मक हुने प्रतिक्रिया दिएका हुन्।
सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिने बताएका रास्वपा साभापति रवि लामिछानेले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्री दाहालले रास्वपालाई सरकारमा आउन आग्रह गरेका थिए। यदि सरकारमा सहभागी भएको खण्डमा डा वाग्लेलाई अर्थमन्त्री बनाउने प्रवक्ता ढकालको भनाइ छ।
‘सरकारमा जाने वा नजाने विषयमा निर्णय भएपछि मन्त्रालयमा पठाउने व्यक्तिहरूका विषयमा छलफल हुन्छ,’ पत्रकारहरूको जिज्ञासामा ढकालले भने, ‘सरकारमा जाने वा नजाने विषयमा रास्वपाले छलफल अघि बढाएको छ। शुक्रबारसम्ममा हामी निर्णयमा पुग्छौँ।’
सोमafर बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समितिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्नेबारेमा छलफल भएको थियो। यद्यपि त्यस विषयमा निर्णयमा नपुगेपछि शुक्रबारसम्म कुर्ने पक्षमा रास्वपा पुगेको हो।
प्रधानमन्त्री तयार भएको अवस्थामा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउँदा आफूहरू खुसी हुने प्रवक्ता ढकालको भनाइ थियो। गत वैशाख १० गतेको उपनिर्वाचनपछि रास्वपाका २१ जना सांसदहरू छन्।
मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनबाट चौथो ठूलो दल बनेको रास्वपा चुनावपछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री सहित सहभागी भएको थियो। सरकारमा सहभागी भएको एक महिनामै रास्वपा सभापति रवि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्ति नगरेको मुद्दामा सांसद पद गुमाए।
सांसद पद खारेज भएसँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिए। केही दिनमै नेपाली नागरिकता पुन: प्राप्त गरेका लामिछानेलाई फेरि गृहमन्त्री दिन प्रधानमन्त्री प्रचण्ड तयार नभएपछि रास्वपा माघ २२ गते सरकारबाट बाहिरिएको थियो।


