काठमाडौँ– एसईईमा दुईभन्दा बढी विषयमा अनुत्तीर्ण (एनजी ल्याएका) विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा धेरै विद्यार्थी फेल भएको भन्दै यस्तो निर्णय गरेको हो।
शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुन सक्ने देखिएकाले मौका परीक्षामा सहभागी हुन दिने निर्णय गराएकी हुन्।
मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने भएको हो।
यसका लागि लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रक्रया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्र निर्देशन गरेकी छन्।
यस्तै, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पनि निर्देशन दिएकी छन्।
दुई भन्दा बढी विषयमा फेल भएकालाई पनि ग्रेडवृद्धि (मौका) परीक्षामा सामेल गराउन सम्बन्धित सबै निकायलाई पत्राचार पनि गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको नतिजामा ५२.१४ प्रतिशत अर्थात् २ लाख ४२ हजार विद्यार्थी कक्षा ११ मा भर्ना हुन अयोग्य भएका छन्।



