भरतपुर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का दुई छोरीहरू रेणु र गंगाले असार १५ मा धान रोप्ने कार्यक्रममा सहभागी भएका छन्।
भरतपुर महानगरले चितवनमा आयोजना गरेको धान रोप्ने भेलामा पुगेर उनीहरू दुवैले धान रोपेका हुन्।
२१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै दुवै जनाका पिता प्रधानमन्त्री प्रचण्डले देशलाई धानमा मात्र नभएर खाद्यान्नमा नै आत्मनिर्भर बनाउने जिकिर गरे। सरकारले बजेटमा सिचाइ र बीउ एवं मल उपलब्धता गर्ने र यान्त्रिकीकरण गरेर आत्मनिर्भर हुन सकिने बताएका हुन्।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले दूग्ध किसानलाई अनुदान उपलब्ध गराउने, कृषि प्रबर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाएको बताएका थिए।
भरतपुर महानगरका मेयर रेणु दाहालले चितवनका सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिचाइ उपलब्ध गराउने व्यवस्था मिलाइने विश्वास दिलाइन्।








