काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले महिनामा १५ दिन पाँचतारे होटलमा खाना खाने नेताले समाजवाद ल्याउन नसक्ने बताएका छन्।
आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरुले ‘म समाजवादी हुँ’ भन्न नसुहाउने बताए।
‘हामी समाजवादका कुरा गर्दछौँ। म महिनाको १५ दिन जति पाँच तारे होटलमा गएर खाना खान्छु भने जहाँ ४३ प्रतिशत जनता गरिबीको रेखामुनी बाँचिरहेका छन् भने म आफूलाई समाजवादी भन्ने कि नभन्ने?’उनको भनाइ छ, ‘जुन ठाउँमा कर्णालीमा मान्छे बिरामी हुँदा खाने कुरा हुँदैन, नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन्, म महंगो अस्पतालमा उपचार गराउँछु, विदेशमा गएर उपचार गराउन चाहन्छु, म समाजवादी हो की होइन।’
अध्यक्ष राउतले समाजवादी बन्न हुनुपर्ने मापदण्ड नेताहरुले पालना गर्न नसकेको बताए ।


