काठमाडौँ- नेपाल पत्रकार महासंघको रक्षा र निकासका लागि साझा चरित्र स्थापित गर्न सक्ने पत्रकारको अगुवाइमा नयाँ समिति बनाएर अघि बढ्न माग गरिएको छ।
साझा लोकतान्त्रिक-प्रगतिशील गठबन्धनले आइतबार एक विज्ञप्ति जारी गरी यस्तो माग अघि सारेको हो।
महासंघको वर्तमान नेतृत्व र अध्यक्ष मण्डल विवादरहित ढंगबाट निर्वाचनमार्फत् नयाँ नेतृत्व चयन गर्न असफल भएकाले साझा नेतृत्वका लागि माग गरिएको अगुवा पत्रकार जन्मदेव जैसीले बताए।
सदस्यता वितरणको सवाललाई लिएर पत्रकारका संघ/संगठनबिच आरोप-प्रत्यारोप शुरु भएपछि शनिबार साझा गठबन्धनले ७ बुँदे माग राखी पत्रकार महासंघका सदस्यहरुको साथ लिएर नयाँ समिति गठन गर्न माग गरेको हो।
साझा गठबन्धनका तर्फबाट योगेन्द्र शाही र प्रवीण चौधरीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा सम्भावित मुठभेडको अवस्थालाई मध्यनजर गरी ७ बुँदामा ध्यानाकर्षण गराइएको छ।
उता महासंघका पूर्वअध्यक्षको बैठकले पनि महासंघको संगठनमा प्रवेश गरेको अवाञ्छित बहुआयामिक हस्तक्षेपप्रतिको असहमति जनाएको छ।
पूर्वअध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेसहित ५ जना पूर्वअध्यक्षको बैठक आइतबार बसेको हो।
महासंघको रक्षाको लागि साझा गठबन्धनको माग भइरहेका बेला बसेको पूर्वअध्यक्षहरूको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।



