काठमाडौँ- नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ। हुम्लाको नाम्खा गाउँपालिका-३ मा अवस्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सुरू गरेको हो।
बाजुरा सदरमुकाम मार्तडीदेखि गाडीमा एक दिन र त्यसपछि ४ दिन जनि हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोटदेखि गाडीमा तीन, चार घण्टा र एक दिन पैदल हिँडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीय वासिन्दा सोनाम लामाले बताए।
योभन्दा पहिले करिब २० किलोमिटर तल लाम्पाटा र माथि ५ हजार ५ सय मिटर उचाइको साके पुगेपछि मात्र मोबाइल नेटवर्क टिप्ने अवस्था थियो। अब भने यहाँका करिब ६ सय बासिन्दाले सहज तरिकाले आफन्तसँग कुराकानी गर्न पाएको लामाले सुनाए।
सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरण क्षेत्र हो। यहाँ ६ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन। करिब ३ हजार ६ सय मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भए पश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका वासिन्दा लाभान्वित हुनेछन्।
भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट सीमानादेखि करिब चार दिनसम्म भरियामार्फत् बोकेर पुर्याइएको थियो। दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको प्रवक्ता हरि ढकालले बताए।
प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रूपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालू आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाईंकुण्ड, संखुवासभाको किमाथांकालगायतका स्थानमा भीस्याटमार्फत सेवा सञ्चालन गरिएको बताएका छन्।


