काठमाडौँ- प्रभु बैंक लिमिटेडले भिजा इन्टरनेसनलसँगको सहकार्यमा पूर्ण नवीनतम सुविधासहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको छ।
प्रभु बैंकले आइतबारदेखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रूपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिन्छ।
प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने खाताधनीहरूलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने लक्ष्यसहित यो सेवा सुरु गरिएको प्रभु बैंकले जनाएकाे छ। बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ।
व्यापारिक घराना, फर्म, कम्पनी, कर्पोरेट, स्कुल तथा कलेज र विश्वविद्यालय, होटल र रेस्टुरेन्ट, अस्पताल आदिमा यो लागू हुन सक्ने बताइएको छ, जसले आफ्ना व्यापारी, बिक्रेता, आपूर्तिकर्ता र सेवा प्रदायकलाई नियमित रूपमा साना र ठूला भुक्तानी गर्न सहजता हुनेछ।
यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हाे, जहाँ कार्डमार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ।


