काठमाडौँ- नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना ग्राहकहरूका लागि नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो विद्युतीय गाडी कोना शून्य प्रतिशत ब्याजदरमै खरिद गर्न पाइने योजना सार्वजनिक गरेको हो।
दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबुत गर्न हुन्डाईले कोनामा ‘जेरो इमिसन, जेरो इन्टरेस्ट’ नामको योजना ग्राहकमाझ सार्वजनिक गरेको हो।
यस योजनाअन्तर्गत इच्छुक ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि ५० प्रतिशत डाउन पेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन्।
आफ्नो उत्कृष्ट डिजाइन, पर्फर्मेन्स र विश्वसनीयताका साथ हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ। हुन्डाई कोना दुईवटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। कोना जीएलको मूल्य ५९ लाख ९६ हजार र जीएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार तोकिएको छ।
हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री छ, जसका कारण यसमा हाई इनर्जी डेन्सिटी रहन गई रेन्जसमेत बढ्नेछ। कोना इलेक्ट्रिकलाई एकपटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिनेछ।
हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ। यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ।
नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ। विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको यस कम्पनीले विभिन्न चरणमा आयोजना गरेको हाई भोल्टेज ब्याट्री चेकअप क्याम्पमा ५०० भन्दा बढी विद्युतीय सवारीसाधनमा गरिएको परीक्षणको नतिजाअनुसार ५ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति (एसओसी) ९८ प्रतिशतभन्दा बढी पाइएको थियो।
विश्वव्यापी रूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो। हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडीप्रतिको सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीय गाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि-सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको छ।
विश्वसनीयताप्रतिको प्रतिबद्धता हुन्डाईको आधारशिला हो र कोना इलेक्ट्रिक एउटा उदाहरण हो, जसले यो कुरालाई परिभाषित गर्छ। यिनै कारणहरूले हुन्डाई कोनाले नेपाली अटो बजारमा आफ्नो साखलाई अझ मजबुत बनाउनुका साथै स्वच्छ वातावरण र पर्यावरणमैत्री साधन खोज्ने ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल बनेको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। साथै, ईभी चार्जिङ गर्नका लागि ४४ भन्दा बढी स्थानहरूमा चार्जिङ प्वाइन्ट स्थापना गरी सहज सेवा दिँदै आएको छ।


