काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
शुक्रबार दिउँसो देशभर साधरणतयादेखि पूर्णतया बदली रहने र देशका स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार शुक्रबार राति देशभर बदली हुने र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मनसुन सक्रिय हुँदा जल तथा मौसम विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा रहेको संकेत स्वरुप विभागले ‘रेड जोन’मा राखेएको छ।
यसपटक ‘रेड जोन’मा परेका जिल्लाहरुमा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपारी पूर्व र मुस्ताङ छन्। यसैगरी लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पुर्व पनि रेड जोनमा परेका छन्।
कर्णाली प्रदेशका जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालिकोट, जुम्ला र हुम्ला र सुदूरपश्चिमका डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा जिल्ला ‘रेड जोन’मा छन्।
यसैगरी विभागले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३४ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ।


