सिलोङ- भारतको मेघालय राज्यमा एक नेपालीसहित चार जनाको हत्या भएको छ।
मेघालयको पूर्वी जैन्तिया हिल्सस्थित उम्प्लेङ बजार पछाडि उनीहरूको शव फेला परेको थियो। शनिबार बिहान उनीहरूको शव फेला परेको थियो।
बीभत्स ढंगले हत्या भएको अवस्थामा उनीहरूको शव भेटिएको भारतीय सञ्चारमाध्यम ईस्ट मोजोले उल्लेख गरेको छ।
चारै जना स्थानीय कोइलाखानीमा काम गर्दै आएका थिए।
हातखुट्टा समेत बाँधिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो।
भारतीय प्रहरीले मृतकमध्ये एक जनाको पहिचान गरेको छ।
इस्ट जैन्तिया हिल्सका एसपी (पुलिस सुपरिटेन्डेन्ट) गिरि प्रसादले मृतकमध्ये एक जना २३ वर्षीय रवि राई भएको जानकारी दिएका छन्।
एसपी प्रसादका अनुसार रविको नेपाली ठेगाना इलाम हो भने उनका बाबुको नाम देवी राई हो।
अन्य शवको पहिचान हुन बाँकी छ। चारै शवको पोस्टमार्टमका लागि स्थानीय अस्पताल पठाइएको छ।


