कञ्चनपुर- लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ।
महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन्।
जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन्।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित १६ सय २२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए।
‘बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन्,’ उनले भने, ‘डुबानबाट प्रभावितलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ।’
उनले बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा–१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको बताए।
‘घरमा सुतेको अवस्थामा बाढी पसेपछि डुबेर शिशुको मृत्यु भएको छ,’ उनले जानकारी दिए।
निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेका जनाइएको छ।

लगातारको बर्षापछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको सुडा चोकमा बाढीले भत्काएको पुल । पुल भत्केपछि आइतबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ । तस्बिर ः शेरबहादुर सिंह /रासस

अविरल बर्षाको कारण दाङको लमही नगरपालिका-७ स्थित हस्नापुरबाट राजपुर गाउँपालिका-२ बेला जोड्ने राप्ती नदी पुल किनारको सडकमा राप्ती नदीको बाढी पसेर सडकमा बगेको खोला । तस्बिर : कुलदीप न्यौपाने /रासस


