काठमाडौँ- अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि सोमबार बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उक्त अवधिमा बाढीपहिरोका ९६६ घटना भएका छन्। त्यसमा ८६ घरमा क्षति पुगेको र ३३५ पशु चौपायको मृत्यु भएको छ।
भारी वर्षाका कारण आज पनि देशका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ।
उक्त अवधिमा ४ हजार ७९० प्रहरी बाढीपहिरोको उद्धारका लागि परिचालन गरिएको र रु ९ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


