पोखरा- पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। पोखरा-२७ को सहेलेपाखामा माथिबाट आएको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको हो।
बुधबार बिहान ४ बजे घरमा सुतिरहेको अवस्थामा २२ वर्षीय भीमबहादुर थापाको ज्यान गुमेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा-२७ का ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट आएको पहिरोले पुरेको हो। मृतक भीम मनका छोरा हुन्।
भीमबहादुरकी आमा ५० वर्षीय कमला थापाको भने उद्धार गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए।
‘बिहान ४ बजे आएको पहिरोमा परेकी कमला थापाको उद्धार भएको छ। सुरुमा पहिरोले बेपत्ता हुनुभएका उहाँका छोरा भीमबहादुर थापाको बिहान शव भेटिएको छ,’ उनले भने।
तीन जना बस्ने उक्त घरमा गएराति घरधनी मनबहादुर थापा भने अन्यत्र बस्न गएकाले उनी सकुसल रहेको प्रवक्ता शर्माले बताए।
