काठमाडौँ- बुटवलबाट काठमाडौँका लागि आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बस नारायणगढ मुग्लिन सडकखण्डमा दुर्घटनामा पर्यो।
३० जनाभन्दा बढी यात्रु लिएर काठमाडौँ आउँदै गरेको बसमा चालक थिए नवलपरासीको सुनवल नगरपालिका-४ घर भएका ३६ वर्षीय मेघराज विक।
चितवनको भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने स्थानमा माथिबाट सडकमा लेदोमाटो झरिरहेको थियो।
अँध्याराेमा एक्कासि लेदोसहितको ढुंगा चालक विकको टाउकोमा बज्रियो।
चालक विकले बस चलाइरहे। ५० मिटरजति पर लगेर ब्रेक लगाउन भ्याए। बस रोकियो।
तर उनको अवस्था चिन्ताजनक थियो। टाउकोबाट धेरै रगत बग्न थाल्यो।
प्रहरीले एम्बुलेन्स बोलाएर उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज पुर्याए।
तर उपचारका क्रममा बिहान ४ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरे।
उक्त बसका सबै यात्रु सकुशल छन्।


