काठमाडौँ- बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन ढाकास्थित नेपाली दूतावासले आग्रह गरेको छ।
बुधबार विज्ञप्ति जारी गर्दै दूतावासले बंगलादेशमा अध्ययनरत सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो।
बंगलादेशमा जारी कोटाविरोधी प्रदर्शनमा झडप हुँदा कम्तीमा पनि ६ जना विद्यार्थीको मृत्यु भएको अलजजीराले समाचार लेखेको छ।
यसपछि त्यहाँको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी र निजी विश्वविद्यालय, शैक्षिक संस्थाहरू तत्कालको लागि बन्द गरेको छ।
अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन दूतावासले नेपाली विद्यार्थीलाई भनेको छ।
यद्यपि कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा दूतावासलाई खबर गर्न भनिएको छ।
स्वतन्त्रताका सेनानीका सन्ततिका लागि छुट्याइएको आरक्षणको विरोधमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।
सन् १९७१ मा पाकिस्तानसँग छुट्टिएर बंगलादेश स्वतन्त्र हुने बेला लडेका परिवारका छोराछोरीलाई विशेष आरक्षण दिने सरकारले नीति लिइएको छ।
यो समूहका लागि ३० प्रतिशतको आरक्षण छुट्याइएको थियो।
उनीहरूका लागि कोटा छुट्याउँदा सरकारी सेवामा प्रवेश गर्न चाहने वास्तविक विद्यार्थीलाई मार परेको विद्यार्थीहरूको भनाइ छ।
प्रदर्शनमा सोमबार र मंगलबार मात्रै चार सय जनाभन्दा बढी मानिस घाइते भएका छन्।
सन् २०१८ मा यसरी आरक्षणको नीति ल्याइएको थियो। तर कयौं सातासम्म प्रदर्शन भएपछि सरकार निर्णयबाट पछि हटेको थियो।
त्यसैबीच जुलाइ पहिलो साता बंगलादेशको उच्च अदालतले सरकारी निर्णयको पक्षमा फैसला गरेको थियो।


