काठमाडौँ- उपसभामुख इन्दिरा राना विवादमा परेकी छन्। पार्टी र संसदसचिवालयसँग असम्बन्धित मान्छेलाई भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेका कारण उनी विवादमा परेकी हुन्।
संचार माध्यायममा सार्वजनिक भएको पत्रमा आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावाससँग ताकेता गरेको पाइएको हो।
संसदको उपसभामुखको लेटरहेड प्रयोग गरी भिसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन उनले आग्रह गरेकी छिन्। आफूसँगै अन्य ५ जना पुरुषलाई भिसाका लागि सिफारिश गरेकी उपसभामुखले उनीहरु के भूमिकामा कार्यरत छन् भन्ने कुरा चिठीमा खुलाएकी छैनन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद राना २०७९ माघ ७ मा उपसभामुख निर्वाचित भएकी थिइन्। अर्को महिना फागुनमा उनी यूएन वुमनको सीएसडब्लू ६७ (मार्च ६ देखि १७) मा सहभागी हुन अमेरिका गएकी थिइन्। महिलासँग सम्बन्धित कार्यक्रममा उनले किन पुरुषै पुरुषमात्र छानेर पठाउन खोजिन् भन्ने प्रश्नसमेत रहस्यमय देखिन्छ।
उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र झण्डै १७ महिनापछि हालै मात्र सार्वजनिक भयो। आफ्नो टिमको सदस्य भन्दै भिसाका लागि लिने पत्रबारे सभामुख देवराज घिमिरेले चासो राखेका छन्।
उनले सुरुमा उपसभामुखलाई सोधेका थिए, रानाले आफूले पत्र नलखेको दाबी गरिन्। सार्वजनिक रुपमै प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग चासो राखेका थिए।


