काठमाडौँ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका छन्।
नेकपा एमाले र नेपाली कांग्रेसका ५६ जना सांसदको हस्ताक्षरसहित आचार्यले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ।
मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि सोमबार साँझ ६ बजेसम्मको समयसीमा दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।
यसअघि एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको भनिएपनि पार्टीको केन्द्रले हस्तक्षेप गरेर आचार्यलाई अघि सारेको हो।
संसदीय दलका नेता गिरी पार्टीका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन्।
पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै पार्टीका महासचिव निकट नेता आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएको हो।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्नबाट रोकिएपछि गिरीले असन्तुष्टि व्यक्त गरेका छन्। पार्टी संसदीय मूल्यमान्यता विपरीत गएको गिरीको आरोप छ।
