काठमाडौँ- सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ५ जनाको शव परिवारले बुझेका छन्। शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट ५ शव परिवारले बुझेका हुन्।
उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन्। दुई शव परिवारले भोलि बिहान बुझ्नेगरी प्रक्रिया पूरा भएको छ।
केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन्। बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ।
उनीहरुले बीमाको रकम कति पाउने र कहिलेसम्म पाउने, कार्यालयको कामको सिलसिलामा मृत्यु भएकाले सौर्य एयरलाइन्सबाट के कति क्षतिपूर्ति पाउने, मृतक परिवारको शिक्षा, रोजगारी, मृतकका परिवारलाई मानिसिक परामर्श तथा पुनर्स्थापना, मृतकको आश्रित परिवारको हकमा, मृतकको नागरिक लगानी कोषमा जम्मा भएको रकम वा सञ्चय कोष तथा सामाजिक सुरक्षा कोषको रकमका बारेमा दाहा संस्कार तथा कृयाको खर्च, शव वाहनको व्यवस्था र सरकारको तर्फबाट पनि क्षतिपूर्तिको माग गरेका छन्।
त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम शुक्रबार अपराह्न सम्पन्न गरेको हो। पोस्टमार्टम सकिएसँगै सबै आफन्तले शव लैजान सक्ने अस्पतालको भनाइ छ।
यसैबीच सौर्य एयरलाइन्सले विज्ञप्ति जारी गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ।


