धनगढी- धनगढीको नोभा अस्पतालमा तनावको अवस्था सिर्जना भएको छ।
कञ्चनपुर बेलौरीका १७ वर्षीय युवक नसिब चौधरीको मृत्यु भएपछि अस्पताल परिसरमा तनावको अवस्था सिर्जना भएको हो।
चिकित्सकको लापरवाहीका कारण नसिबको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
स्थिति नियन्त्रणमा लिन तीन राउन्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले बताए। अस्पताल बाहिर ढुंगामुढा सुरु भएपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीको दाबी छ।
जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो। अस्पतालले नेपालगञ्ज रिफर गरेपछि शुक्रबार दिउँसो एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो।
उपचारमा संलग्न चिकित्सक र उचित क्षतिपूर्ति नभएसम्म शव नउठाउने मृतकका आफन्तको भनाइ छ। अस्पताल प्रशासनले मृतकका आफन्तसँग वार्ता गरिरहेको बताइएको छ।
मृतक बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा ११ कक्षामा अध्ययन थिए।


