काठमाडौँ- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित केराबारीमा बसजस्तै आकृतिको बस्तु देखिएको छ।
स्थानीयले नदी बीचमा केही बेरअघि रातो वस्तु देखिएपछि सिमलतालबाट बगाएको बस हुनसक्ने आशंकामा प्रहरीलाई खबर गरेका थिए।
त्रिशूलीको बिच भागमा देखिएको बस्तु यकिन गर्न गोताखोरलाई खबर गरिएको चितवन प्रहरीले जनाएको छ।
आज दिनभर भारतीय उद्धार टोलीसहितको सुरक्षाकर्मीले त्यही आसपासका क्षेत्रमा चुम्बक प्रयोग गरी बसको खोजी गरेका थिए। दुइटा गरी ४० किलोको चुम्बक प्रयोग गरिए पनि केही प्रगति भएन । केही बेरअघि मात्रै खोजी कार्य स्थगित गरिएको थियो।
असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका थिए। दुवै बसको अवस्था अहिलेसम्म अज्ञात छ। बसमा सवार २५ जनाको शव भेटिएको छ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बस त्रिशूलीमा खसेका हुन्।


