धनगढी- कैलालीको गोदावरीमा स्कुल बस दुर्घटना भएको छ। सोमबार गोदावरी नगरपालिका–९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको हो।
गोदावरी नगरपालिका–८ मा रहेको दुर्गाज्योती इङ्लिस बोर्डिङ्ग स्कुलको से ०१००१ ख २१८२ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा २७ जना विद्यार्थी सवार थिए।
बसमा सवार १५ वर्षीय विप्लव खड्का, १४ वर्षीय प्रकाश रावत र १६ वर्षीय रोशन नेपाली घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए।
घाइते तीनै जनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ।
बसका चालक ३५ वर्षीय सैतुराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण भने खुलेको छैन।
बसको अगाडि र दायाँबायाँको भागमा क्षति पुगेको छ। बस सडक किनारमा पल्टिएको छ।
सोमबारै पोखरामा पनि स्कुल बस दुर्घटना भएको थियो। दुर्घटनामा परी २ जनाको मृत्यु भयो।
मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन्।
दुर्घटनामा परेर २८ जना घाइते भएका छन्। आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नम्बरको स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो।
घाइतेहरुको गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल, र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
पोखरा महानगरका मेयर धनराज आचार्यले घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गरेका छन्।


