काठमाडौँ- सिन्धुपाल्चोक जिल्ला अदालत रामबहादुर बम्जनसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको छ।
न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बम्जनसँग ३ लाख धरौटी माग गरेको हो। यो मात्र अदालतमा मुद्दा भएको भए उनी ३ लाख बुझाएर रिहा हुन सक्थे। तर उनीविरुद्ध अन्य अदालतमा पनि मुद्दा रहेको र सर्लाहीको आदेशअनुसार तत्काल रिहा हुने बाटो उनका लागि बन्द छ।
यसअघि सर्लाही अदालतले गत असार १७ गते बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाइसकेको छ।
बम्जनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको बाढेगाउँ आश्रमबाट एक महिला बेपत्ता पारेको अभियोग लागेको थियो।
०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बम्जनविरुद्ध बाल यौन दुराचार मुद्दा दर्ता गरेको थियो।
सर्लाही जिल्ला अदालतले ०७७ असार २१ म पक्राउ पूर्जी जारी गरेको अधारमा बम्जनलाई प्रहरीले काठमाडौँको बूढानीलकण्ठबाट गत पुस २४ मा पक्राउ गरेको थियो।
महोत्तरीको जलेश्वर जेलमा रहेका बम्जनलाई सिन्धुपाल्चोकमा परेको मुद्दाको अनुसन्धानका लागि लगिएको थियो।
यस्तो छ बम्बजनको कथा
किशोर अवस्थामै घरबाट हराएपछि परिवार र गाउँलेले खोजी सुरु गरे। रतनपुरी नजिकको जंगलमा एउटा रूखमुनि ध्यान गरिरहेको अवस्थामा भेटिएका उनले आफूलाई तपस्वी घोषणा गरे।
पछि ध्यान बसेको हेर्न बिस्तारै भीड लाग्न थाल्यो र, त्यो ठाउँ ‘धार्मिक स्थल’ का रूपमा चिनिन थाल्यो।
उनले त्यसरी नै १० महिना बिताए। त्यतिका महिना उनले पानीसमेत नपिई ध्यानमा बसेको प्रचार गर्न भक्तहरू खटिएका थिए। अनुयायी र स्थानीयले उनलाई बुद्धकै अवतार दाबी गर्थे। बम्जनले भक्तलाई प्रवचन दिन्थे।
त्यसैका आधारमा उनको परिचय ‘लिटिल बुद्ध’ बनेको थियो।
राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारको विषय बनेका उनी बेलाबेलामा अचानक सम्पर्कविहीन हुन्थे। रतनपुरी छेउको जंगलमा १० महिना ध्यान गरेपछि उनी एकाएक सम्पर्कविहीन भएको खबरले देश–विदेशमा चर्चा पायो।
केही दिनपछि बाराकै हलखोरिया जंगलमा एउटा रूखमुनि ‘तपस्यारत’ अवस्थामा भेटिए। भेटिएको खबर पनि चर्चित भयो। बीबीसी र डिस्कभरीजस्ता टीभी च्यानलले बम्जनमाथि विशेष सामग्री नै प्रसारण गरे
डिस्कभरीको ‘बुद्ध ब्वाय’ वृत्तचित्रले बम्जनको चर्चा विश्वभर भयो। देश–विदेशमा बढ्दो चर्चासँगै उनका अनुयायी र भक्तको दायरा फराकिलो बन्दै गयो।
सर्वसाधारणदेखि नेता र उच्च सरकारी अधिकारीसमेत उनका भक्त बन्न थाले। बम्जनले प्रचार गरेको बोधी श्रवण धर्म संघमा पूर्वराज्यमन्त्री मणि लामा सक्रिय छन् भने अर्का पूर्वराज्यमन्त्री यशोदा लामाले पनि बम्जनको भक्तका रूपमा चिनाउँदै आएकी छन्।
यस्तै देश–विदेशबाट आर्थिक स्रोत बटुलिन थाल्यो। केही वर्षमै उनले सर्लाही, लमजुङ, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौंमा आश्रमहरू बनाए। सिन्धुली कमलागाई नगरपालिका–८ पैरेस्थित आश्रम करिब ४२ बिघामा फैलिएको छ।
२४ बिघाको लालपुर्जा नै थियो भने बाँकी सामुदायिक वनको जग्गा अतिक्रमण गरिएको थियो।
त्यस्तै सिन्धुपाल्चोकको इन्द्रावती–५ का केही स्थानीयले ३० रोपनी जग्गा दिएपछि त्यहाँ पनि आश्रम बनाए।
त्यहीं उनले ‘मैत्री पद्धति’ सुरु ग । कसैसँग दोहोरो नबोल्ने बम्जनले २०७३ सालमा ‘मैत्री मार्ग’ अँगालेर पहिरन बदले। रातो बौद्ध चीवरको साटो सेतो र हरियो रङको पहिरन अनिवार्य गरे। सँगै मैत्री बोधी संघ बनाए।
बाहिर ‘बुद्ध’ बने पनि आश्रमभित्र भने उनले अपराधको भयानक संसार खडा गरेको गुनासो बढ्दै गयो। महिलाहरूलाई बन्धक बनाउने, यौन शोषण गर्ने र हत्यासमेत गरेको आरोपका उजुरी पर्न थालेपछि भने बम्जनको छवि धुमिल भयो। उनी २०६७ सालदेखि नै विवादित छन्।
बाराको हलखोरियास्थित जंगलमा बसेका बेला उनी र उनका अनुयायीले सोही जंगलमा च्याउ टिप्न आएका सर्वसाधारणलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए।
विभिन्न समयमा स्थानीयलाई कुटपिट गर्ने, बन्धक बनाउने गर्दै आएका उनले आश्रमका आनीहरूलाई यौन शोषण गरेको तथा अनुयायीलाई बेपत्ता पारेको घटना पनि सार्वजनिक भए। सिन्धुपाल्चोकको आश्रमबाट दुई बेपत्ता भएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी पर्यो।
पछि सिन्धुपाल्चोकको इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा पनि आश्रम बनाए, जहाँ प्रहरीले २०७६ पुसमा छापा मारेको थियो। त्यहाँ बेपत्तामध्येका मकवानपुरका सञ्चलालको हत्या गरेको प्रहरीको आशंका थियो।
करिब ८० रोपनीको आश्रम भित्र एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट फेला पारिएको थियो। शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका गरे पनि पुष्टि हुने थप प्रमाण फेला पर्न सकेको थिएन।
त्यस्तै उजुरी सिन्धुलीमा पनि थियो। आश्रमका आनीहरूमाथि यौन हिंसा गरेको, बेपत्ता पारेको र हत्या गरेको भन्दै किटानी जाहेरी परेको थियो। जाहेरीपछि २०७६ सालमा उनी फरार भए।
प्रहरीले उनलाई पक्राउ गर्न बारा, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङका आश्रमहरूमा छापासमेत मारेको थियो । तर, उनी प्रहरीलाई छक्याउँदै, लुक्दै हिँड्न सफल भइरहे।
बम्जनले चार अनुयायीलाई आश्रमबाटै बेपत्ता पारेको भनी उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी परेको छ। चुन्मो भन्ने चिनीमाया तामाङ, डोल्मो भन्ने फूलमाया रुम्बा, सञ्चलाल वाइबा र सुरेशकुमार आले आश्रमबाट बेपत्ता भएकाले ‘खोजतलास गरी पाऊँ’ भन्दै परिवारका सदस्यले उजुरी गरेका छन्।
नुवाकोटकी २९ वर्षीया चुन्मो २०६९ असोजदेखि, मकवानपुरकी ३० वर्षीया डोल्मो २०७१ माघदेखि, मकवानपुरकै ५१ वर्षीय सञ्चलाल २०७१ चैतदेखि र बाराका ३४ वर्षीय सुरेश २०७२ जेठदेखि बेपत्ता छन्।
चुन्मो, डोल्मो र सञ्चलाल सिन्धुपाल्चोकको बाँडेगाउँ आश्रमबाट र सुरेश बारा निजगढस्थित आश्रमबाट बेपत्ता भएका थिए।
बम्जनलाई बोधी श्रवण धर्म संघ र नमो तपोवन संरक्षण तथा संवर्द्धन समितिका स्वयंसेवकले सुरक्षा दिने गरेका थिए। २०६९ मा संघकै पदाधिकारीले सिन्धुपाल्चोककी एक आनी र एक विदेशी नागरिकलाई तीन महिनासम्म बन्धक बनाएको आरोप लागेको थियो।
बम्जनले बाराको हलखोरियामा राष्ट्रिय वन अतिक्रमण गरेर गुम्बा बनाएको आरोपसमेत लागेको थियो। जिल्ला वन कार्यालय र स्थानीय प्रशासनले बम्जनलाई वन क्षेत्रमा प्रवेशमै रोकसमेत लगाएको थियो।
पछि उच्च अदालत, हेटौंडाले अन्तिम फैसला नहुन्जेल बम्जनलाई नरोक्नू भन्ने आदेश दिएको थियो। त्यसपछि उनी पुनः हलखोरियाको वनमा बस्न थालेका थिए।
पछि वन मन्त्रालयले २०७० मा हलखोरिया वन क्षेत्रमा कुनै पनि निर्माण र उपभोग गर्न नदिने निर्णय गरेको थियो।
उनलाई गत पुषमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँको बूढानीलकण्ठस्थित एउटा बिलासी घरबाट पक्राउ गरेको हो।
उनको निवासबाट ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद भएको थियो। यस्तै अमेरिका, अस्ट्रेलिया, भारत, चीन, क्यानडा, डेनमार्क, इन्डोनेसियालगायत १७ देशका ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरको मुद्रा पनि बरामद भएको थियो।


