काठमाडौँ- गएराति परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थान प्रभावित भएका छन्।
भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पसेको छ। सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा पर्ने नदी किनारबाट २८ जनालाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
काठमाडौँको बल्खु क्षेत्रमा पर्ने बल्खु खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। बल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको प्रहरीको भनाइ छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो। मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ।
काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो।
बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिए।
यस्तै ललिपुरमा युएन पार्क क्षेत्रमा बाढी पसेको छ। बागमती करिडोरका ठाउँठाउँमा बाढी पसेर सडक अवरुद्ध बनाएको थियो। यस्तै एमालेको पार्टी कार्यालय च्यासलमा पनि बाढी पसेको थियो।
बल्खु क्षेत्र
एमाले कार्यालय
बागमती किनार
भक्तपुर क्षेत्र


