काठमाडौँ- विद्युतीय चुरोट (भेप)मा राखेर दुबईबाट नेपालमा सुन तस्करी गर्न भन्सारकै अधिकृतलगायतका कर्मचारीको समेत भरपूर सहयोग रहेको खुलासा भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा भन्सारकै कर्मचारीसमेतको सहयोगमा सुन तस्करी हुने गरेको देखिएको हो।
२०७९ पुस १० गते फ्लाई दुबईको उडानमार्फत काठमाडौँ अवतरण गरेका चिनियाँ नागरिक ली हासोङका साथमा दुई सुटकेस थिए। ती सुटकेस शंकास्पद देखिए।
सुटकेसमा रहेका भेपमा सुन राखिएको थियो- झन्डै ९ किलो। भन्सारले उक्त भेप सजिलै नछोड्ने देखेपछि तस्करले भन्सार अधिकृत भरतराज अधिकारीसँग सम्पर्का बढाउँछन्। उक्त भेप छुटाए १० लाख रुपैयाँ दिने पनि तस्कर समूहले प्रस्ताव गरेका थिए। यसका लागि अधिकारीले भरपूर सहयोग गरेको देखिएको प्रहरीको भनाइ छ।
यद्यपि उक्त सुन भन्सारले सहजै छोड्दैन। दुई सुटकेस भेपमा राखिएको सुन डेढ महिनासम्म भन्सारमा नै थन्किएको थियो। तर यही बीचमा बाहिरबाट अर्कै भेप लगेर सुन भएको भेप चाहिँ बजारमा बिक्रीसम्म गर्ने काम भने भन्सारकै कर्मचारीले गर्न भ्याएका थिए।
चिनियाँ नागरिक वाङका चालक थिए लोकेन्द्र पौडेल। पौडेलले पनि अधिकारीलाई आफूले पटकपटक गाडीमा राखेर विभिन्न स्थानमा पुर्याएको स्वीकार गरेका छन्।
यसरी भेपमा राखेर ली हासोङले दुबईबाट ल्याएको सुन चिनियाँ नागरिक दावाजिन वाङ भएको खुलेको छ। भन्सार अधिकृत भरतराज अधिकारीले पनि वाङकै आग्रहमा सुन तस्करीमा सहयोग गरेको खुलेको सीआईबी स्रोतको भनाइ छ।
‘अधिकारी रसुवा भन्सार कार्यालयमा हुँदा दावाजिन वाङको गाडीमा रसुवा-काठमाडौँ ओहोरदोहोर गरेको खुलेको छ,’ सीआईबी स्रोतको भनाइ छ, ‘वाङकै गाडीमा अधिकारी सिंहदरबारसम्म पनि पुग्ने गरेका थिए। दावाजिनका चालकले पनि यही बयान दिएका छन्।’ दावाजिनका चालक मात्र होइन अधिकारीले स्वयंले पनि यो कुरा स्वीकार गरिसकेको सीआईबीको भनाइ छ। हाल उनै अधिकारी वीरगञ्ज भन्सार कार्यालय छन्।
चिनियाँ नागरिक वाङका चालक थिए लोकेन्द्र पौडेल। पौडेलले पनि अधिकारीलाई आफूले पटकपटक गाडीमा राखेर विभिन्न स्थानमा पुर्याएको स्वीकार गरेका छन्।
अधिकारीले वाङसँग विभिन्न मितिमा फोन सम्पर्क गरेको समेत सीआईबी अनुसन्धानमा उल्लेख छ। अधिकारीले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरासँग पनि पटकपटक फोन सम्पर्क गरेका थिए। त्यही सहयोग गरेको आधारमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल पक्राउ परे।
राहुल हाल पुर्पक्षका लागि कारागारमा छन् भने महरालाई सिआइबीले हाजिरी जमानीमा राखेर अनुसन्धान गरिरहेको छ। गत ५ चैतमा पक्राउ परेका कृष्णबहादुर महरालाई स्वास्थ्यको कारण देखाउँदै सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको थियो। तत्कालीन गृहमन्त्री रवि लामिछानेले महरालाई छोडिएको विषयमा ‘राज्यको पनि करुणा हुन्छ’ भन्ने प्रष्टीकरण दिएका थिए। रविको उक्त अभिव्यक्ति चर्चित बनेको थियो। यो प्रकरणमा अझसम्म पनि अनुसन्धान जारी छ।
भन्सार अधिकृत अधिकारीलाई सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले पनि कारबाही सिफारिस गरेको थियो।। तर उनलाई बढुवा गरेर सरकारले अझ ठूलो भन्सार भन्सार कार्यालय वीरगञ्ज पठाएको छ।
उनीमाथि आयोगले विभागीय कारबाही सिफारिस गरेको थियो। तर आयोगले कारबाही सिफारिस गरेपनि सरकारले भने पुरस्कृत गरेको छ।
भेपबाट सुन तस्करी र त्यसलाई गायब पार्ने प्रकरणमा गत वर्ष असार २७ गते ९ जनाविरुद्ध मुद्दा दायर छ। त्यसबेला महरा परिवारलाई उन्मुक्ति दिइएको थियो। त्यसबेला गृहमन्त्री थिए-नारायणकाजी श्रेष्ठ प्रकाश। तत्कालीन प्रमुख प्रतिपक्षी दल एमालेले भने सुन तस्करीका विषयमा गृहमन्त्री पूर्वाग्रही भएकाले महरा परिवारलाई उन्मुक्ति दिन खोजेको भन्दै छानबिन आयोग गठन गर्न माग गरेको थियो। एमालेको मागअनुसार बनेको आयोगले दिएको प्रतिवेदनका आधारमा पूर्वसभामुख महरा पक्राउ परेका थिए।
यो प्रकरणमा तत्कालीन भन्सार प्रमुख अरुण पोखरेलको समेत भूमिका शंकास्पद देखिएपनि विस्तृत अनुसन्धान बाँकी रहेको प्रहरीको भनाइ छ। उनीमाथि आयोगले विभागीय कारबाही सिफारिस गरेको थियो। तर आयोगले कारबाही सिफारिस गरेपनि सरकारले भने पुरस्कृत गरेको छ। रसुवा भन्सारबाट अधिकारीलाई वीरगञ्ज पुर्याएर पुरस्कृत गरेजस्तै पोखरेललाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ। पोखरेल पूर्वी नवलपरासीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) छन्।
भन्सारका तत्कालीन नासु रेवन्त खड्का भने पुर्पक्षका लागि कारागारमा छन्। खड्काले बाहिरबाट भेप लगेर सुनसहितको भेप निकालेर बेच्ने काममा संलग्न भएका थिए। यसमा भन्सार एजेन्ट दिनेश बस्नेतको मुख्य योजना भएको सीआईबीको भनाइ छ। यसरी भन्सारबाटै सुनसहितको भेप चोरी भएपछि भन्सार कर्मचारी, भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरी २७ असार ०८० मा मुद्दा दायर गरिएको छ।
खड्कालाई ६५ लाख रूपैयाँ दिएर भेप साट्न लगाएका भन्सार एजेन्ट दिनेश बस्नेतले सो सुन बेचेका थिए। बस्नेत सुन बेचेर अनुसन्धान सुरु हुनुअघि नै भारत भागेका थिए। यसरी भेपबाट करिब ९ किलो निकालिएको सीआईबीको अनुमान छ। झन्डै ६ करोडमा उक्त सुन बिक्री गरिएको अनुमान छ।
चिनियाँ व्यापारीको भेपबारे भन्सारमा कुरा गरेको हुँ, सुन रहेको थाहा भएन : महरा


