खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका वडाध्यक्ष ईखबहादुर राईको दैनिकी जनताको कामसँगै सडक मर्मतमा बित्ने गरेको छ। वडा कार्यालयको दैनिक काम तथा नगर कार्यपालिकाको बैठकबाहेक अधिकांश समय सडक मर्मत गर्दै गरेको अवस्थामा भेटिनुहुने वडाध्यक्ष राईको श्रमदान अभियानमा स्थानीय बासिन्दाले कम्मर कसेर साथ दिएका छन्।
वडाध्यक्ष राईले सुरु गरेको श्रमदानमार्फत सडक मर्मत गर्ने अभियानले खार्मीबाट हुर्लुङ हुँदै दिक्तेल तथा राजधानी काठमाडौँलगायत पूर्वी तराईका विभिन्न सहर आवतजावतमा सहज भएको छ। यसअघि हिउँदमा दुःखका साथ करिब छ महिनामात्र सञ्चालन हुने सडक श्रमदानमार्फत मर्मत गरिएका कारण बाह्रै महिना यातायात सञ्चालन भएपछि स्थानीय उपभोक्तासमेत हर्षित भएका छन्।
खार्मीले जनताको प्रमुख समस्या सडक भएकाले बाह्रै महिना यातायात सञ्चालन गर्नेगरी श्रमदान अभियान सञ्चालन गरिएको वडाध्यक्ष राईले बताए।
‘बाह्रै महिना सडक सञ्चालन भएमा कसैले पनि अकालमा ज्यान गुमाउनु पर्दैन भन्ने मेरो बुझाइ छ। हाम्रो प्रमुख समस्या भनेको सडक नै हो। वडामा आएको बजेटले स्तरोन्नति गर्नसक्ने सम्भावना छैन,’ उनले भने, ‘सडकमा एउटा ढुङ्गा खस्यो भने पनि मन चसक्क हुन्छ। सडकमा खसेको त्यो ढुङ्गा नहटाएसम्म मेरो मनले मान्दैन। पटकपटक अवरुद्ध हुँदै आएको सडक श्रमदानमार्फत मर्मत गर्ने मेरो अभियानमा सबैको साथ र सहयोग पाएको छु। यसले मलाई हौसला मिलेको छ। श्रमदान अभियानका कारण बाह्रै महिना यातायात सञ्चालन भएको छ।’
वडाध्यक्ष राईले सुुरु गरेको श्रमदान अभियानको सुुरुदेखि अहिलेसम्म स्थानीय भुवन राई, हेमन्त राई, राम तामाङ, ओमन श्रेष्ठ, राजन तामाङलगायत युवाले निरन्तर साथ दिइरहेका छन्। दैनिक वडाध्यक्ष राईसँगै खार्मीका अधिकांश स्थानीय बासिन्दाले श्रमदान अभियानमा साथ दिएका छन्।
श्रमदान अभियानमा वडाध्यक्ष राईले एउटा बोलेरो भ्यानसमेत प्रयोग गर्दै आएको। अभियानका लागि आवश्यक औजार कतिपयले आफैँ ल्याउँछन् भने कतिपयका लागि वडाध्यक्ष आफैँले खरिद गरेर राखेका छन्।
राति पानी परेको छ भने गाडीसँगसँगै चार–पाँचजना युवा झम्पल, गैँती, सावेल र कोदालो साथमा लिएर मोटरसाइकलमा अगाडिपछाडि लाग्छन्। गाडी फसिएको ठाउँमा सहयोग गर्छन् र वारपार भएपछि घर फर्कन्छन्।
श्रमदानमार्फत सडक मर्मत अभियान जुट्नुभएमा वडाध्यक्ष राईलाई देश–विदेशमा रहेका खार्मीलेले आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएका छन्। खार्मीमा जन्मिएर रोजगारीको सिलसिलामा विभिन्न देशमा रहनुभएका व्यक्तिले वडाध्यक्ष राईसँगै श्रमदानमार्फत सडक मर्मत अभियानमा खटिने स्थानीय बासिन्दाका लागि खाना तथा खाजा खर्च गर्न सहयोग रकम उपलब्ध गराउने गरेका हुन्।
विदेशमा रहेकाहरूले वडाध्यक्ष राईको श्रमदान अभियानमा आर्थिक रूपमा भए पनि सहभागी हुन पाउँ भन्दै स्वतःस्फुर्त रकम पठाउने गरेको अभियानमा सहभागी भुवन राईले बताए। ‘वडाध्यक्षज्यू, निर्वाचित हुनुअघिबाटै श्रमदानमार्फत सडक मर्मत अभियानमा सहभागी हुनुहुन्थ्यो। हामी सबैले खार्मीको नेतृत्व लिन अनुरोध ग¥र्यौँ। उहाँले पनि स्वीकार गर्नुभयो। अहिले उहाँले श्रमदानसँगै वडाध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको छ,’ उनले भने, ‘वडाध्यक्षको श्रमदान अभियानमा अहिलेसम्म रु पाँच लाख सहयोग जुटिसकेको छ। खर्च पनि उही अनुपातमा भएको छ। तर, राज्यले लगानी गर्ने योजना हो भने करोडौँको काम श्रमदानमार्फत गरेका छौँ।’
निर्माण गरेको लामो समयसम्म अवरुद्ध रहेको सडकमा अहिले दैनिक चारवटा यात्रुबाहक सानो गाडी सञ्चालनमा छन्। खार्मीबाट दैनिक बिहान ७ः३० बजे दिक्तेल तथा साढे ४ः०० बजे राजधानी काठमाडौँ छुट्ने गरेका छन्।
खार्मी–हुर्लुङ दिक्तेल सडक करिब २३ किलोमिटर लामो छ। यो सडक खार्मीसँगै पाथेका, फेदी, खार्ताम्छा, बास्पानी र बाक्सिलाका स्थानीयका लागि राजधानी काठमाडौँलगायत सहर आवतजावतमा उपयुक्त मार्ग पर्दछ। श्रमदानबाटै नियमित यातायात सञ्चालन भइरहेको हुर्लुङ–खार्मी सडकका लागि यस वर्ष रु दुई करोड १७ लाख बजेट प्राप्त भएको छ। प्रतिनिधिसभा सदस्य रामकुमार राईको पहलमा सङ्घीय सरकारबाट प्राप्त बजेटले सडक फराकिलो पार्ने, ‘ड्रेन’ निर्माण तथा सोलिङ गर्ने योजना बनाइएको वडाध्यक्ष राईले जानकारी दिए।
खार्मीलाई सदरमुकाम दिक्तेल र राजधानी काठमाडौँ जोड्ने दुईवटा राष्ट्रिय सडकले छोएको छ। यो दुवै सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालनमा ल्याउन वडाध्यक्षको नेतृत्वमा श्रमदान अभियान चलाइएको हो। खार्मीबाट बाँझोबारी हुँदै देउराली–तालखर्क तथा सोल्मा हुँदै दिक्तेल जोड्ने सडक १७ किलोमिटर लामो छ। दिक्तेल–खार्मी–बाक्सिला नाम दिइएको यो सडकमा गत वर्ष करिब डेढ महिना श्रमदान गरिएको थियो। यद्यपि, यो सडक अहिले अवरुद्ध अवस्थामा छ।
सदरमुकाम दिक्तेलबाट केपिलासगढी गाउँपालिका जोड्ने सबैभन्दा छोटो दूरीको यो सडकमा वार्षिक बजेटसमेत उपलब्ध हुँदै आएको छ। प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत पर्ने दिक्तेल–खार्मी–बाक्सिला सडक कहिलेबाट नियमित सञ्चालन हुने भन्ने टुङ्गो छैन।
अन्तरपालिका जोड्ने यो सडकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनामा समावेश गरेको छ। तर, उक्त सडकका लागि नगरपालिका एक्लैले प्रयाप्त बजेट उपलब्ध गराउने अवस्था छैन। प्रदेश सरकारसँगको साझेदारीमा यस वर्ष दिक्तेल–खार्मी–पाथेका सडकका लागि रु एक करोड बजेट व्यवस्था गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। कोशी प्रदेश सरकार र नगरपालिकाको रु ५०–५० लाख बजेटले यस वर्ष बोलपत्र आह्वान गरेर ड्रेन तथा ग्रावेलिङको काम गरिने नगरपालिकाले जनाएको छ।
