काठमाडौँ- काठमाडौँको कालोपुलमा एक युवक मृत भेटिएका छन्। कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडा लिएर बस्दै आएका २० वर्षीय प्रेम महत दर्जी मृत भेटिएका हुन्।
उनको स्थायी ठेगाना ओखलढुंगाको लिखु गाउँपालिका–९ रहेको प्रहरीले जनाएको छ। दर्जीको हत्या भएको हुनसक्ने आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
पक्राउ पर्नेहरुमा मृतक महतका श्रीमती ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा सार्की र सोही ठाउँका २७ वर्षीय मदन रम्तेल छन्। प्रारम्भिक अनुसन्धानमा मदन, उषाका पूर्वश्रीमान रहेको पाइएको छ।
प्रारम्भिक अनुसन्धानको क्रममा महतको हत्या भएको खुलेको छ। धारिलो हतियार प्रहार गरी हत्या गरेर झुण्ड्याएको अवस्थामा शव भेटिएको एसपी अधिकारीले बताए। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
एसपी अधिकारीले प्रारम्भिक अनुसन्धानमा उषा र मदन मिलेर प्रेमको हत्या भएको पाइएको बताए। ‘हामी अनुसन्धान गरिरहेका छौँ। अहिले हेर्दा दुई जना मिलेर हत्या गरेजस्तो देखिन्छ’, उनले भने।
आइतबार बिहान सवा १० बजेतिर महतको शव भेटिएको थियो । उनीहरु विगत १ महिनादेखि उक्त कोठा बस्दै आएका थिए ।


