काठमाडौँ- राइड सेयरिङ प्लेटफर्म उबरले आफ्नो फ्लिट सर्भिसमा १ लाख युनिट बीवाईडी कार सामेल गर्ने भएको छ।
युरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उबरले बीवाईडीसँग सम्झौता गरेको हो।
उबर चालकलाई विशेष मूल्यमा बीवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुविधा दिनसमेत यी दुई कम्पनीबीच सम्झौता भएको छ।
साथै, दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने समेत सहमति भएको छ।
उबर प्लेटफर्मका लागि उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रविधिका कार विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ।
चिनियाँ ब्रान्डका ईभीको बढ्दो दबदबा रोक्न युरोप र अमेरिकाले हालै घोषणा गरेको उच्च करका बावजुद उबरसँग भएको यो सम्झौतालाई पश्चिमा मिडियाहरूले निकै अर्थपूर्ण रूपमा लिएका छन्।
यो सम्झौताले बीवाईडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको कतिपय मिडियाले टिप्पणीसमेत गरेका छन्।
बीवाईडीसँगको सहकार्यमा आफ्नो फ्लिट सर्भिसलाई विश्वव्यापी बनाउने उबरले जनाएको छ। मध्यपश्चिम, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गरिने यी दुई कम्पनीबीच सहमति भएको छ।


