काठमाडौँ- यसवर्षको मनसुनजन्य विपद्बाट हालसम्म १५४ जनाको मृत्यु भएको छ। बाढी, पहिरालगायत विपद्बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
विपद्मा परी ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन्। बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन्। दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुई÷दुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ। गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन्।
यसका साथै कर्णाली प्रदेशमा ५१ जना, कोशी प्रदेशमा ३७ जना, गण्डकी प्रदेशमा ३४ जना, बागमती प्रदेशमा १९ जना, सुदूरपश्चिम प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ११ जना, मधेश प्रदेश र काठमाडौं उपत्यकामा १०–१० जना गरेर जम्मा १८६ जना घाइते भएका छन् ।
कोशी प्रदेशमा ४९ जना, काठमाडौं उपत्यकामा २६ जना, गण्डकी प्रदेशमा १४ जना, बागमती प्रदेशमा १२ जना, सुदूरपश्चिाम प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा २ जना गरेर जम्मा १०८ जनाको उद्दार गरिएको छ।
बाढी पहिरोमा परी बागमती प्रदेशमा ४२ जना, कोशी प्रदेशमा २ जना, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १–१ जना गरी ४७ जना वेपत्ता भएका छन्। उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् भने २६१ घर, ९५ गोठ, ४३ पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। यस्तै ७ सय ४३ वटा पशु चौपायको मृत्यु भएको छ। यसै अवधिमा विपद्का घटनाबाट ४ हजार २३८ घर परिवार विस्थापित भएका छन्।


