बागलुङ- बागलुङको बडीगाड गाउँपालिकामा गएको पहिरोमा परी घाइते भएका तीन जनालाई काठमाडौँ ल्याइएको छ।
बडीगाड गाउँपालिका-१० का १९ वर्षीया रिमा पुन, ३१ वर्षकी सिता थापा र ४६ वर्षकी सङ्गीता बुढालाई उपचारका लागि काठमाडौँ ल्याइएको हो।
बुधबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई काठमाडौँ ल्याइएको हो।
निरन्तरको वर्षा, ठाउँ ठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकेपछि बुधबार बिहान सेनाको हेलिकोप्टरले उद्धार गरेको हो ।
पहिरोमा परी आठ जनाको ज्यान गएको छ, भने चार जना अझै बेपत्ता छन्। उनीहरूको खोजी जारी छ।
गाउँपालिकाको वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको थियो भने वडा नम्बर ९ को नयाँ बस्तीमा २ जनाको मृत्यु भएको थियो।
वडा नम्बर १० मा मृत्यु हुनेमा ७ वर्षकी मालती बुढा, सोही उमेरकी मधु बुढा, १२ वर्षका मनोज बुढा, सोही उमेरका अमन बुढा, सञ्जु विककी ६ महिनाकी छोरी र ५९ वर्षकी मैतीदेवी विकको छन्।
गाउँपालिकाको वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको छ।
पहिरोको भिडियो


