काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालय अन्तर्गतको संघ, प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनित गरेका छन्।
संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) ‘ग’ बमोजिम विषयगत समितिमा मेयर महर्जन नियुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रीस्तरीय निर्णय गर्दै पौडेलले ललितपुरका मेयर महर्जनलाई संघ, प्रदेश र स्थानीय तह अन्तर्गत रहेका देशैभरका स्वास्थ्य क्षेत्रका विषयमा आवश्यक समन्वयका लागि मनोनयन गरेका हुन्।
समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अन्तर्गत बनेको समितिले स्वास्थ्य क्षेत्रको योजना तथा कानूनको तर्जुमाका लागि तीनै तहका सरकारहरूसँग परामर्श र समन्वय गर्छ।
ऐन आएयता हालसम्म पूर्णता नपाएको विषयगत समितिको लामो समयदेखि बैठकसमेत बस्न सकेको थिएन। महर्जनको मनोनयसँगै उक्त समितिको बैठक आगामी भाद्र ६ गते बस्ने गरी तोकिएको छ।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका विषय संघ सरकारको मात्र नभएकाले सबै तहसँग समन्वय गरेर आफूले अघि सारेका कार्ययोजना लागू गराउन पहल थालेको र यसैका लागि बैठकसमेत डाकिएको जानकारी दिए।
मन्त्री अध्यक्ष रहने विषयगत समितिमा प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रीहरु सदस्य रहने र समितिको अध्यक्षले स्थानीय तहबाट एक जना प्रमुख/अध्यक्षलाई सदस्यमा मनोनित गर्न सक्ने व्यवस्था छ।


