राजविराज- पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा आज तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका-३ गौतमपुर बस्ने अन्दाजी ४१ वर्षीय महेशकुमार मेहता र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ।
महेशको घटनास्थलमा नै मृत्यु भएको हो भने घाइते जयप्रकाशको कञ्चनरूप-१२ स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए।
पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको तेल बोक्ने ट्याङ्करले पूर्वबाट पश्चिम आउँदै गरेको प्र १– ०२०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
यस्तै, ट्याङ्कर चालक सिरहाको कर्जना नगरपालिका–३ का अन्दाजी ३२ वर्षीय मिथलेश यादवसमेत घाइते भएका छन्। उनको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।


